काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। एमालेको नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले ‘फास्ट ट्र्याक’ बाट पद छाडेर देशलाई विधि–प्रक्रियामार्फत सञ्चालन गर्नुपर्ने बताए।
बस्नेतले प्रधानमन्त्री कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने दाबी गर्दै उनको राजनीतिक भूमिकामाथि कटाक्ष समेत गरे। बस्नेतले भोलि काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्।
‘आजको हाम्रो मार्चपासले भोलिको आन्दोलनको संकेत दिएको छ,’ भन्दै उनले भने, ‘हाम्रो भोलिको प्रदर्शन भनेको सुशीला आमालाई राजनीतिक जीवनबाट विदा गर्नु हो।’
कार्यक्रममा बस्नेतले २–३ दिनभित्र प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा नदिए ‘भोलेन्टियर फोर्स’ आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए।
उनका अनुसार, देश दल र लोकतान्त्रिक प्रक्रियामार्फत चल्नुपर्ने भएकाले दलबाहिरको राजनीति स्वीकार्य नहुने स्पष्ट सन्देश फोर्सले दिनेछ।
























