काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी दुई महिनाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिठ्ठी फुक्नेबित्तिकै दुई लाख युवालाई तुरुन्तै काठमाडौँ जुटाउन सक्ने संगठनात्मक अवस्था तयार पारिने बताएका छन्।
नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा सभामा बोल्दै बस्नेतले युवाहरूलाई एक ठाउँमा उभ्याउने केन्द्र एमाले नै भएको उल्लेख गरे। उनले यो फोर्सलाई देशव्यापी अभियानका रूपमा विस्तार गरिने बताउँदै पार्टी संगठन मजबुत पार्न, स्वयंसेवी संरचना फैलाउन र राजनीतिक क्रियाकलापमा ऊर्जा थप्न यसको महत्वपूर्ण भूमिका रहने दाबी गरे।
बस्नेतका अनुसार एनभीएफ एमालेको स्वयंसेवक तथा प्रतिरोधी शक्ति दुवैका रूपमा गठन गरिएको हो। उनले जेन–जी आन्दोलनका क्रममा संसद, सर्वोच्च अदालत, सिंहदरबार, व्यापारिक प्रतिष्ठान तथा निजी आवाससम्ममा आगजनी भएका घटनालाई उदाहरण दिँदै यस्ता गतिविधि रोक्न र समाजमा बढ्दो असुरक्षाको वातावरण अन्त्य गर्न यो फोर्स आवश्यक भएको बताए।
उनकाे भनाइमा, भदौ २३–२४ पछि जनता त्रस्त भएको मनोबल उठाउन, सुरक्षामा सहयोग गर्न, र प्राकृतिक विपद्को समयमा उद्धार तथा राहतकार्यमा सक्रिय भूमिका खेल्न एनभीएफ अघि बढाइने छ।
शुक्रबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंक्वेटसम्म युवा मार्चपास गर्दै कार्यक्रम सम्पन्न भएको थियो। एमालेकाे अनुसार नेसनल भोलेन्टियर फोर्समा एक मुख्य कमान्डर र दुई सहायक कमान्डर रहने व्यवस्था गरिएको छ।
























