काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेन–जी घाइतेहरू त्यहीँ उपस्थित भएर कार्यक्रम अवरोध गर्ने प्रयास गरेका छन्। उनीहरूले आफूहरू न्यायका लागि संघर्षरत रहेको बताउँदै माइतीघरमा कसैलाई भेला हुन नदिने चेतावनी दिएका छन्।
एमालेसम्बद्ध युवाहरू माइतीघरबाट नयाँ बानेश्वरतर्फ मार्चपास गर्दै बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित एनभीएफ घोषणा समारोहमा सहभागी हुने तयारीमा थिए।
यसैबीच, प्रहरीले माइकिङमार्फत माइतीघर क्षेत्र कार्यक्रममा अनुमति नदिइएको जानकारी दिँदै सबैलाई संयमित रहन अपिल गरिरहेको छ।
भदौ २३–२४ का घटनापछि समाजमा उत्पन्न भय, असुरक्षा र अशान्ति घटाउन तथा जनमानसमा भरोसा बढाउन एमालेले भोलेन्टियर फोर्स गठन गर्न लागेको बताइन्छ।

























