विराटनगर । धनकुटाको पाख्रिबासमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
पाख्रिबास नगरपालिका–५, भैँसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा.४ ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
इलाका प्रहरी कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्याएकाे थियो।
दुर्घटनामा गम्भीर घाइते संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती को उपचारका क्रममा मृत्यु भएको प्रहरीकाे भनाइ छ।
घाइते १४ मध्ये केहीको अवस्था गम्भीर रहेको र प्रारम्भिक उपचारपछि दुई जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
दुर्घटनामा घाइते भएकाहरू
-
प्रहरी जवान सुजता गिरी (धनकुटा महालक्ष्मी–३) : मेरुदण्डमा चोट।
-
सगिता राई (संखुवासभा सिलिचुङ–३) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
-
नरेन्द्र राई : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
-
लमु शेर्पा (संखुवासभा पाँचखपन–९) : टाउकोमा चोट, अवस्था मध्यम।
-
निर्जला राई (उदयपुर लिम्चुङबुङ–१) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
-
बिनिता राई (११ वर्ष) : टाउकोमा चोट, अवस्था मध्यम।
-
जेसन राई (१४ वर्ष) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
-
सन्त बहादुर तामाङ (सिन्धुली) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
-
पासाङ शेर्पा (भोजपुर सिलिचुङ–५) : टाउकोमा चोट, अवस्था मध्यम।
-
रत्नबहादुर विक (खाँदबारी–७) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर।
-
दिपेन्द्र बुढाथोकी (चालक) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर।

























