
काठमाडौं । ब्राजिलको बेलेममा भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० को आयोजनास्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहर वरपरका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
बीबीसीका पत्रकार (जलवायु सम्पादक) जस्टिन रोलाटले पभिलियन क्षेत्र नजिकै आगो र बाक्लो धुवाँ देखिएपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन्।
संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार आगो लगभग ६ मिनेटमै नियन्त्रणमा ल्याइएको थियो ।
धुवाँको असरका कारण २१ जना बिरामी परेका छन् र उनीहरूको उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ । सम्मेलन आयोजक समितिले उनीहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिएको र आवश्यक सबै चिकित्सकीय सहयोग उपलब्ध गराइएकाे जनाएको छ ।
आगलागीका कारण सम्मेलन कार्यसूची केही समयका लागि रोकिएको थियो । जलवायु संकटका विषयमा अन्तर्राष्ट्रिय प्रयास सुदृढ पार्ने समझदारी टुंग्याउने अन्तिम तयारी भइरहेका बेला यस्तो अवरोध आएको हो । तर संयुक्त राष्ट्रसंघले सम्मेलन शुक्रबारदेखि पुनः सुरु हुने स्पष्ट पारेको छ ।
आयोजकका अनुसार, ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल तथा युएन सुरक्षा टोली तत्कालै परिचालन भई आगो छिट्टै नियन्त्रणमा ल्याइयो र उपस्थित व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’
आगलागीको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । अनुसन्धान जारी रहेको बताइएकाे छ । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै रोयटर्सले सम्भवत: कुनै विद्युतीय उपकरण (जस्तै माइक्रोवेभ) बाट आगो लागेको हुनसक्ने अनुमान जनाएको छ ।

























