काठमाडौं । विभिन्न नामका २३ जेन–जी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने माग ज्ञापनपत्रको मुख्य बुँदा रहेको छ।
ज्ञापनपत्रमा जेन–जी विद्रोहको जगमा बनेको सरकारले केवल एक पटक निर्वाचन गराएर आफ्नो दायित्व पूरा भएको दाबी गर्नु स्वीकार्य नहुने उल्लेख छ। उनीहरूले सुशिला कार्की नेतृत्वको सरकार दिशाहीन बनेको आरोप पनि लगाएका छन्।
“यो विद्रोह र शहादत केवल समयअघिको निर्वाचनका लागि मात्र होइन। विद्रोहमा सहभागी २३ जेन–जी एलायन्स, घाइते तथा शहीद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्छ,” ज्ञापनपत्रमा भनिएको छ।
जेन–जी समूहहरूले यदि सरकार आफ्ना माग पूरा गर्न असफल भएमा वर्तमान सरकारलाई फिर्ता बोलाई उनीहरूकै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले मध्यस्थता गर्नुपर्ने माग राखेका छन्। अन्यथा शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम सुरु गर्ने चेतावनीसमेत दिइएको छ।
ज्ञापनपत्र बुझाउने समूहहरूमा जेन–जी नेसनल फ्रन्ट लाइनर, जेन–जीसी स्पार्क, एन टेक जेन–जी, ऋणई एसोसिएसन नेपाल, जेन–जी वाई युनाइटेड, रियल जेन–जी सहितका संगठन रहेका छन्।
ज्ञापनपत्रमा देशका ठूला भ्रष्टाचार प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारबाही, जेन–जी आन्दोलनमा ‘नरसंहार’ गराउनेहरूलाई कारबाही, आन्दोलनका घाइतेहरूको उपचार तथा शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको व्यवस्था गर्नुपर्ने मागसमेत राखिएका छन्।


























