काठमाडौं । विपद् उद्धारका लागि खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा अब एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण (पेन्सन) प्रदान गरिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीमा चौथो संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार विपद्को समयमा ड्युटीमा खटिँदा ज्यान गुमाउने सशस्त्र प्रहरीलाई मरणोपरान्त एक तह बढुवा दिइनेछ, साथै परिवारजनले पारिवारिक पेन्सन प्राप्त गर्नेछन्।
यसअघि नियमावलीको नियम ७६(२) ले मुठभेड, आक्रमण, बिस्फोट वा हतियारधारी समूहविरुद्धको कारबाहीका क्रममा मृत्यु भएका अवस्थामा मात्र यस्तो सुविधा दिने प्रावधान राखेको थियो।
संशोधनसँगै अब विपद् उद्धारका क्रममा मृत्यु भए पनि सोही सुविधा लागू हुनेछ।

























