काठमाडौं । संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मागेको लिखित जवाफ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुझाएका छन्।
अधिवक्ता युवराज सफल र अधिवक्ता शेरबहादुर रोकायाले प्रधानमन्त्री सुशीला कार्की नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाको मागसहित दायर गरेको रिटमा अदालतले ओलीबाट जवाफ मागेको थियो।
लिखित जवाफ फर्काउँदै ओलीले सरकार गठन र प्रतिनिधिसभाको विघटन भदौ २३ र २४ गतेको आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले अहिलेको अवस्था भएको सिर्जना भएको दाबी गरेका छन्। उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रिमण्डलका सदस्यहरूले “दृश्य–अदृश्य रूपमा राज्यसत्ता कब्जा गर्ने कार्य” गरेको घटनाक्रमले नै पुष्टि हुन्छ।
पूर्व महान्यायाधिवक्ता रमेश बडालले सार्वजनिक गरेको जवाफका अंशअनुसार ओलीले संविधानको बफादार रहने शपथ लिएर एक घण्टा पनि नबित्दै कार्कीले संविधान उल्लंघन गर्दै संसद् विघटन गरेको उल्लेख गरेका छन्। ओलीले यो कदम पूर्ण रूपमा असंवैधानिक रहेको दाबी गरेका छन्।
सरकार गठन र विघटन प्रक्रिया ‘संविधानविपरीत’ भएको दाबी
ओलीको जवाफमा संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सर्वोच्चका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु नै संविधानविपरीत रहेको उल्लेख छ।
त्यसैगरी, प्रतिनिधिसभा विघटनका लागि मन्त्रिपरिषद्को सिफारिस अनिवार्य भए पनि बिना मन्त्रिपरिषद्को निर्णय एकल सिफारिसबाट संसद् विघटन गरिएको भन्दै उनले प्रक्रिया नै असंवैधानिक भएको तर्क अघि सारेका छन्।
जवाफमा भनिएको छ, “संविधानको धारा ७५(१) अनुसार कार्यकारिणी अधिकार मन्त्रिपरिषद्को हो। प्रधानमन्त्री एक्लैले मन्त्रीपरिषद्को स्वरूप ग्रहण गर्न सक्दैनन्। मन्त्रिपरिषद् गठन नभई गरिएको एकल सिफारिसलाई धारा ६६(२) अनुसार मान्यता दिन मिल्दैन।”
‘चुनावमै आधारित सरकार परिवर्तन’
ओलीले संविधानले सरकार परिवर्तनको अधिकार जनमत र निर्वाचनबाट मात्रै प्राप्त हुने उल्लेख गर्दै अन्य कुनै दबाब, प्रभाव वा असंवैधानिक माध्यमबाट सरकार अपदस्त गर्न नदिने संवैधानिक व्यवस्था स्मरण गराएका छन्।
असंवैधानिक प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन नै अवैध भएकाले सो निर्णय बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग उनले सर्वोच्चसमक्ष राखेका छन्।
लिखित जवाफको अंशहरु :
























