काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारको वैधानिकता, गठन प्रक्रिया र संरचना सबैप्रति गम्भीर प्रश्न उठाएका छन्। बुधबार च्यासलमा आयोजित एमालेको कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘प्रक्रियाविहीन’ र ‘जनउत्तरदायित्वविहीन’ रूपमा बनेको टिप्पणी गरे।
ओलीले भने, “अहिले बनाइएको सरकार हाहुमा बनेको हो। सरकार यसरी बन्दै बन्दैन। उहिले मुखियातन्त्रमा पनि छलफल र छनोटको प्रक्रिया हुन्थ्यो, तर अहिले मुखिया–मुखिनी कहाँबाट आए, कसैले थाहा पाएन।”
उनका अनुसार कसैले नछानेको र नचिनाएको समूह अकस्मात सत्ता नेतृत्वमा देखिनुले सरकार गठनमा नै पारदर्शिता नभएको संकेत गर्छ। उनले व्यंग्य गर्दै थपे, “कोही चप्पल लगाएर झर्छ, कोही हाफपेन्टमा झर्छ, कोही फरिया लगाएर झर्छ—हामी हेरेका हेर्यै।”
सरकारलाई पूर्ण रूपमा आधाररहित दाबी गर्दै ओलीले निष्कर्ष निकाल्दै भने, “यो सरकार केमा अडिएको हो, थाहा छैन। यसको न जग छ, न टेक्ने हाँगो छ, न समाउने डालो।”
अध्यक्ष ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने पनि बताए ।
बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’
























