काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राजनीतिक नेताहरूलाई जनतामाझ जान अवरोध गरिएको स्थिति कायम रहे आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन नै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूको कार्यक्रम रोकिएको घटनापछि उनले सोशल मिडियामार्फत चुनावको निश्चिततामै प्रश्न उठाएका हुन्।
आचार्यले भने, “नेताहरूलाई आफ्ना सभा–सम्मेलनमा जान रोक लगाइयो भने, कार्यकर्ता वा जनतामाझ पुग्न अवरोध गरियो भने कसरी चुनाव हुन्छ? यस्तो कदम लिन कसरी पाइन्छ?” उनका अनुसार आन्दोलनकारी पक्ष, विशेषतः सत्तासमीपका समूह अझ बढी जिम्मेवार हुन आवश्यक छ।
उनले जेनजी युवामाथि पनि संयमता अपनाउन आग्रह गर्दै थपे, “जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नुपर्छ। उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन।”
























