काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सिमरा घटनाप्रति सरकारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।
महासचिव शंकर पोखरेलसहित नेताहरू पार्टीको कार्यक्रमका लागि सिमरा जानेक्रममा जेनजी युवाहरू आन्दोलित भई विमानस्थल क्षेत्रमै तोडफोड गर्ने स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
बस्नेतका अनुसार ‘जेन–जेड’ को नाममा विभिन्न दल–सम्बद्ध समूहले अराजक भिड उतारेका थिए, र ५०–६० जनामात्र संलग्न रहेको यस्तो ‘सामान्य घटना’लाई नियन्त्रण गर्न नसक्नु नैतिक रूपमा सरकारले गरेको गलत निर्णय हो। उनले भने, “सिमरा विमानस्थल अबरुद्ध गरेर आन्दोलन गराउने र त्यसलाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।”
बस्नेतले सभा–सम्मेलन र स्वतन्त्र विचार राख्ने जस्ता संविधानले प्रदान गरेका अधिकार कुण्ठित गरेर राजनीतिक गतिविधिमाथि रोक लगाउने सरकारले फागुन २१ मा चुनाव गराउने दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गरे। “हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ?” उनले प्रश्न उठाए ।
उनले अवरोधका बाबजुद लोकतन्त्र, कानुनी शासन र सुशासनका पक्षमा आफ्नो संघर्ष रोकिन नसक्ने स्पष्ट पारे।
बस्नेतले विमान स्थल बन्द गरेर सिमरा क्षेत्रमा कर्फ्यु लगायर आफूहरुलाई जान रोके पनि कार्यक्रमस्थल बाराको परवानीपुरमा युवा संघका इञ्चार्ज राजीव पहारी, अध्यक्ष क्षितिज थेबे सहितका युवा संघका सबै नेताहरू अहिले कार्यक्रमस्थलमै उपस्थित छन् कार्यक्रम सुरु भएको बताएका छन् ।
आजै माओवादी र मधेशवादी दलका नेता–कार्यकर्ता ठुलो संख्यामा एमाले प्रवेश गर्ने बताउँदै बस्नेतले एमालेको प्रभाबबाट आत्तिएका विपक्षी र सरकारको रबैया बिरुद्ध निरन्तर संघर्ष गर्ने चेतावनी दिएका छन् ।
प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले बताए । जनप्रदर्शन भने स्थगित भएको छ ।
























