
बारा । नेकपा एमाले महासचिव शंकर पोखरेल बारातर्फ जाँदै गर्दा सिमरा विमानस्थल क्षेत्रमा माहोल तनावपूर्ण बनेको छ।
महासचिव पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई छेक्न सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहको नाममा भेला भएकाहरुले सडकमा टायर बालेका छन् ।
पोखरेलको स्वागतका लागि विमानस्थल पुगेका एमाले कार्यकर्ता र जेनजी आन्दोलनकारीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। झडपका कारण विमानस्थल बन्द भएकाेले पोखरेलसहितका एमाले नेताहरू काठमाडौं विमानस्थलमै रोकिएका छन्।
पोखरेलका स्वकीय सचिव सरोज रेग्मीका अनुसार विमानस्थल पुनः खुलेपछि मात्रै उनीहरू बारा जानेछन्। पोखरेलसँगै नेता भानुभक्त ढकाल, महेश बस्नेतलगायत पनि कार्यक्रमका लागि बारा जाँदै थिए।
जेनजी युवाहरू र दल–सम्बद्ध समूहबीचको बढ्दो झडप तथा सुरक्षाजन्य जोखिम बढेपछि कर्फ्यु अनिवार्य भएको जिल्ला प्रशासनले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको आदेशअनुसार तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ आज बेलुका ८ बजेसम्म निषेध गरिएको छ।
कर्फ्यु लागू हुने क्षेत्रहरू
गण्डक नहरदेखि पथलैया सडकखण्ड: राजमार्गको दायाँ–बायाँ ५०० मिटर
सिमरा विमानस्थल परिसर: विमानस्थल चारैतिर ५०० मिटर
कर्फ्यु अवधिमा अत्यावश्यक सेवा, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, कूटनीतिक नियोगका सवारी तथा वैध हवाई टिकट बोकेका यात्रुहरूको आवागमन सुरक्षाकर्मीको समन्वयमा गरिने प्रशासनले जनाएको छ।
बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ता र जेनजी युवा सम्राट उपाध्यायबीचको हातपातपछि सुरु भएको विवाद क्रमशः बढ्दै गएर विमानस्थल क्षेत्रसम्म तनाव फैलिएको जिल्ला प्रशासनले जनाएको छ। सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनले कर्फ्यु आदेश पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरेको छ।

























