विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीमा पसलसहित चार घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । राति करिब ११ बजे सुरू भएको आगलागीले इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूका घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद तथा पसलका सबै सामग्री जलेर क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागी भएका चारै घरमा किराना तथा अन्य सामानका पसल रहेको बताइएको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीका अनुसार घरहरूमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेर करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि जिल्ला प्रहरी कार्यालयले विस्तृत विवरण संकलन जारी राखेको जनाएको छ।
स्थानीयले बताएअनुसार एक मोटरसाइकलमा आगो लागेपछि त्यसलाई नालीतिर पल्टाउन खोज्दा आगो घरसम्म सल्किएको थियो। दमकलको अभाव भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको अध्यक्ष बराइलीले बताइन्। ‘दमकल नभएकै कारण स्थानीय स्रोत–साधनमा निर्भर हुनुपर्दा आगो निभाउन समस्या पर्ने गरेको छ,’ उनले भनिन्।
यसअघि २०७७ साल फागुनमा ताप्लेजुङकै दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेका थिए।

























