जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदको मर्यादा अनुरूप आचरण गर्न नसकेको आरोपसहित दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
बैठकमा सहभागिताका लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सूचना प्रेषित गरेको जनाएको छ।
कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेशसभा सदस्यले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नभएको भन्दै प्रस्ताव दर्ता गराएका थिए। सो प्रस्तावमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आजको बैठक बोलाइएको हो।
उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक बोलाइएको हो। यसअघि सात दलीय गठबन्धनका ३२ जनाले मंगलबार उपसभामुखलाई बैठक बोलाउन मागसहित ज्ञापनपत्र बुझाएका थिए।

























