जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न अवरोध नगरियोस् भन्दै नेकपा एमालेले जनकपुरमा धर्ना दिएको छ। आज जनकचोकमा नेता–कार्यकर्ताले ‘संविधानको रक्षा गरौँ’ र ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ जस्ता नारासहित धर्ना कार्यक्रम सुरु गरेका हुन्।
मुख्यमन्त्री यादवले कात्तिक २४ गते संविधानको धारा १६८(३) अनुसार शपथ लिए पनि सातदलीय गठबन्धनको विरोधका कारण उनी प्रभावकारी रूपमा काम गर्न नसकेको एमालेको आरोप छ।
उता सातदलीय गठबन्धन भने सरकार गठन नै अवैधानिक भएको दाबी गर्दै त्यसको बदरको मागसहित मधेश भवन अगाडि निरन्तर धर्नामा बसेको छ। आज पनि गठबन्धनका प्रदेश सांसदहरूले मधेश भवन अगाडि धर्ना जारी राखेका छन्।
























