काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकमा विघटित प्रतिनिधिसभाका सांसदहरू समेत सहभागी हुनेछन्।
नेताहरूका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्था र पार्टीले अघि बढाउने आगामी नीतिबारे विस्तृत छलफल हुनेछ।
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि एमालेले पहिलोपटक विघटित सांसदहरू समावेश गरेर संसदीय दलको बैठक आह्वान गरेको हो।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट नयाँ सरकार बन्न नसक्ने अवस्था देखिएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन गरिएको थियो।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनका लागि नयाँ निर्वाचन मिति तोकेका छन्। सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरिसकेको छ भने निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म तय गरिएको छ। यही पृष्ठभूमिमा एमालेले संसदीय दल बैठक बोलाएको हो।
एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको छ र पुनर्स्थापनाको माग निरन्तर उठाइरहेको छ। पुनर्स्थापनाका लागि एमालेका ३२ र कांग्रेसका ४६ जना विघटित सांसदहरूले हस्ताक्षर गरिसकेको नेताहरूले बताएका छन्।
यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई कसरी अघि बढाउने भन्नेबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग निरन्तर छलफल गरिरहेका छन्।
























