काठमाडौँ । मुग्लिन–पोखरा सडकमा आज (मंगलबार) देखि १० दिनसम्म दैनिक चार घण्टाका लागि सवारी आवागमन बन्द गरिने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत पश्चिम खण्डमा स्तरोन्नति कार्य तीव्र पार्न सडक आंशिक तथा पूर्ण रूपमा बन्द गर्न लागिएको परियोजनाले जनाएको छ।
योजनाअनुसार हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र मध्याह्न १२ बजेदेखि २ बजेसम्म सवारी साधन रोक्ने व्यवस्था गरिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले बताए।
हाल तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्म सडक स्तरोन्नतिको काम भइरहेको छ। साथै पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम’ साइडमा दुई लेनको ‘प्रिकास्ट’ तथा ‘प्रिस्ट्रेस’ प्रविधिको नयाँ पुल निर्माण कार्य अगाडि बढिरहेको छ।
सडक बन्द रहने अवधिमा दुई पाङ्ग्रे तथा साना सवारी साधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेलचौतारा हुँदै चाउथेमार्ग प्रयोग गर्न सक्नेछन्। त्यस्तै, ठूला सवारी साधनका लागि पावर हाउस चोक हुँदै बौमारा–बिरौटा मार्ग प्रयोग गर्न परियोजनाले अनुरोध गरेको छ।

























