जनकपुरधाम । मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले कारण देखाउ आदेश (शो–कज) सहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सांसद सञ्चयकुमार यादवका अनुसार उनीहरूले सभामुखको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यो आदेश दिएको हो।
सभामुख मण्डलले आफूविरुद्ध सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै जसपा नेपालका सांसद सञ्जय कुमार यादव (सर्लाही), मनिषकुमार सुमन (सप्तरी), सिंगासन सा कलवार (पर्सा), शंकर प्रसाद कलवार (बारा) तथा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह (सर्लाही) लाई पदमुक्त घोषणा गर्ने निर्णय गर्दै सूचना टाँस्न लगाएका थिए।
तर सो निर्णयको भोलिपल्टै उपसभामुखले सभामुख मण्डलले प्रतिशोधका आधारमा कदम चालिएको भन्दै पदमुक्त गर्ने निर्णय बदर गरिएको सूचना जारी गरेकी थिइन्।

























