काठमाडौं । राजदूत फिर्ता बोलाउने सरकारी निर्णय सर्वोच्च अदालतले यथास्थितिमा राख्न दिएको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता भएको छ।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो। अधिवक्ता प्रेम सिलवालले दायर गरेको उक्त रिटको सुनुवाइ मंसिर ७ गतेका लागि तोकिएको छ।
जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारद्वारा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय असोज ३० गते गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।
तर आदेशको भोलिपल्टै प्रधानमन्त्री कार्की स्वयंले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयले ती राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन जारी गरेको थियो। उक्त निर्देशनपछि राजदूतहरू मन्त्रालयमा उपस्थित भइसकेका छन्।

























