काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । सर्वाधिक कर तिर्ने व्यवसायिक फर्मका रूपमा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले संस्थापक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै गुरुङले जेन–जी आन्दोलनका क्रममा आफ्ना स्टोरहरूमा आगजनी र लुटपाट हुँदा ठूलो पीडा भोगेको स्मरण गरे। बैंकिङ प्रणाली र हजारौँ रोजगारी जोखिममा पर्ने डरका बीच पनि व्यवसाय विस्तार गर्न बाध्य भएको उनले बताए। गुरुङले भने, “देशमा कर कम तिर्ने होइन, सकेसम्म बढी तिर्ने सोच हुनुपर्छ। हामीले तिरेको करबाटै देश बन्छ र अन्ततः फाइदा हामीलाई नै फर्केर आउँछ। भाटभटेनी कमाएर दान गर्छ, कसैबाट लिन्नँ।”
उनका अनुसार भाटभटेनीले विगतमा विभिन्न स्वास्थ्य संस्थालाई करोडौँ रूपैयाँ सहयोग गरेका छ ।
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्ति : राजबहादुर शाह
राष्ट्रिय कर दिवसको सन्दर्भमा राजबहादुर शाह लाई व्यक्तिगत श्रेणीमा सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिका रूपमा सम्मान गरिएको छ। आन्तरिक राजस्व विभागले २०८०/८१ मा सर्वाधिक कर तिरेको आधारमा शाहलाई सम्मानपत्र प्रदान गर्यो।
निकायमध्ये शीर्ष करदाता : नेपाल दूरसञ्चार प्राधिकरण
संस्थागत निकायतर्फ नेपाल दूरसञ्चार प्राधिकरण शीर्ष करदाता रह्यो। समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएको छ। एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेसनल सम्मानित भयो। ५० करोडभन्दा बढी कारोबार गर्ने श्रेणीमा भीएफ सर्भिसेज, र विशेष उद्योगतर्फ युनिलिभर नेपाल उत्कृष्ट करदाता बनेका छन्।
अन्य श्रेणीका उत्कृष्ट करदाता
– वस्तुगत आयकर : डाबर नेपाल
– सूचना–प्रविधि : भेरिक्स नेपाल प्रालि
– निर्यात कारोबार : डाबर नेपाल प्रालि
– कृषि/पशुजन्य : पोषक ब्रिडर
– बैंक तथा वित्तीय संस्था : नेपाल इन्भेष्टमेन्ट बैंक
– स्वास्थ्य/शिक्षा : नोबेल मेडिकल कलेज
– पर्यटन : सोल्टी होटल
– वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
– मध्यस्तरीय करदाता : सीडीएस एन्ड क्लियरिङ लिमिटेड
– ऊर्जा : भोटेकोशी पावर कम्पनी
– रेमिट्यान्स : आईएमई

























