काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ। आइतबार बसेको बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
निर्वाचनमा सुरक्षा निकायलाई कसरी परिचालन गर्ने विषय योजनामा समेटिएको उनले बताए। सुरक्षा निकायले संवेदनशील क्षेत्र, सीमा सुरक्षालगायतका विषयमा विभिन्न योजना बनाएको उनको भनाइ छ।
त्यस्तै निर्वाचनका लागि तीन तहमा सुरक्षा योजना बनाइएको उनले बताए। जसमा निर्वाचन पूर्वको तयारी, निर्वाचनका दिन गर्ने तयारी र निर्वाचन पछि गरिने तयारीहरू समेटिएको उनले बताए।
त्यस्तै नेपाली सेना परिचालनका विषयमा पनि छलफल भएको उनले बताए। त्यसका लागि राष्ट्रिय सुरक्षा परिषद् र रक्षा मन्त्रालयका सिफारिसका लागि पत्र पठाइएको उनले बताए।
त्यस्तै निर्वाचन केन्द्रित सुरक्षा योजनाका लागि सातवटै प्रदेशमा गोष्ठी गरिने भएको छ। मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय गोष्ठी सुरू हुने उनले बताए।
























