काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा दल गठन गरिएको छ । नागरिक बचाउ दल नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेको छ। आयोगमा दर्ता गरिएको निवेदनअनुसार पार्टीको नेतृत्वमा माधव खतिवडा छन् ।
प्रसाईंले हाल राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान सञ्चालन गर्दै आएका छन्। त्यही अभियानको नामसँग मिल्दोजुल्दो नाममा नयाँ दल गठन गरिएको बताइएको छ।
नयाँ राजनीतिक दलका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्।
आज दल दर्ताका लागि निवेदन दिने अन्तिम दिन रहेकाले विभिन्न समूह निर्वाचन आयोगमा पुगेका छन्। भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गराउने समय रहनेछ। आयोगले निवेदन परेपछि कागजात पूरा–अपूर्ण छुट्याएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै दल दर्ताको प्रमाणपत्र दिने जनाएको छ। मंसिर १० गतेसम्म दर्ता प्रमाणपत्र पाएका दलहरू आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन सक्नेछन्।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ।
दुर्गा प्रसाईं सरकारसँग विभिन्न मागसहित अभियान सञ्चालन गरिरहेका छन्। सरकारले उनीहरूलाई माग पूरा गर्ने राजनीतिक मार्ग निर्वाचन भएर जाने भन्दै चुनाव लड्न पनि सुझाव दिँदै आएको छ।
कात्तिक २६ गते प्रसाईं नेतृत्वको महाअभियानसँग सरकारले सिंहदरबारमा वार्ता गरेको थियो। वार्तामा प्रसाईं पक्षले ७ मंसिरबाट सुरु हुने आन्दोलन शान्तिपूर्ण रहने र दल दर्ता प्रक्रिया पूरा गरेर चुनावमा जाने योजना रहेको बताएको थियो।
आइतबार प्रसाईं समर्थित नयाँ दलका नेताहरू सनाखतका लागि पुनः निर्वाचन आयोगमा पुगेका छन्। आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको खतिवडाले बताएका छन्।
निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ ।
सभापति– माधवप्रसाद खतिवडा
उपसभापति–ईश्वरीप्रसाद भट्टराई
उपसभापति–देवीप्रसाद संग्रौला
महामन्त्री–प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री– विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष–सुष्मा रेग्मी रिजाल
प्रवक्ता–प्रेम थापामागर
सदस्यहरूः
रामकुमार कार्की
प्रविन लामा
शक्तिराज शाही
दिवाकरमान सिंह बस्नेत
लुजा राई
रेनुकादेवी खरेल
तुलसाकुमारी खत्री
राजेन्द्रबहादुर दमाई
बिजय थापा
तेजेन्द्र रायमाझी
हरदेव महत्तो
बलबहादुर तामाङ
नवराज दुलाल
दानुुमाया थापा
रेणु हमाल शाही
दीनेश पाख्रिन
राजु श्रेष्ठ
पुष्पराज भण्डारी
सुरेन्द्रकुमार कार्की
कमला माया क्षेत्री

























