काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै नेतृत्वमा बसेका व्यक्तिहरूले ‘जेन–जी’ का नाममा मागपत्र तयार गरी युवाहरूबाट बुझाउने नाटक गरिरहेको आरोप लगाएका छन्। गुण्डुस्थित आफ्नै निवासमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा उनले यस्ता गतिविधिलाई “कलाविहीन तमासा” भनेका छन्।
ओलीका अनुसार अहिले विभिन्न नाममा जेन–जी समूह खडा गरिएको छ र ती समूहका मागपत्र पनि सरकारपक्षीय व्यक्तिहरूले नै लेखिदिएका छन्। उनले भने, “सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नु हो भन्ने बुझेको छ। त्यसका लागि जेन–जीहरुलाई संगठित गरिँदैछ, मागपत्र लेखिदिँदै छ, पढाइँदै छ र मिडियामार्फत सरकार दबाबमा परेको देखाउने अभिनय गरिँदैछ।” उनका अनुसार, जेन–जी समूहका नाममा भइरहेको गतिविधिको वास्तविक आयोजक र लेखक को हुन् भन्ने आफूलाई स्पष्ट थाहा छ।
ओलीले प्रतिनिधिसभा “अवैध ढंगले, अनधिकृत व्यक्तिको सिफारिसमा” विघटन गरिएको पुनः आरोप दोहोर्याउँदै तत्काल पुनःस्थापनाको माग गरे।
उनका अनुसार अहिले १०–२० जना युवालाई जेन–जीको नाममा जम्मा गराई धम्क्याउने, वातावरण बिगार्ने र भ्रम फैलाउने काम गरिँदैछ, जुन युवाहरूको वास्तविक हित र उद्देश्यसँग मेल खाँदैन।
निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङलाई सेवा निवृत्त भएपछि स्थानहद तोकिएको र पासपोर्ट रोक्का गरिएको कुरा बाहिरिएको सम्बन्धमा पनि ओलीले असन्तुष्टि प्रकट गरे। उनले यसलाई अहिलेका आइजिपीलाई त्रसित बनाउने नियतका रूपमा वर्णन गरे।
उनले भने, “हिजोसम्म मुलुकको शान्ति–सुरक्षाको जिम्मा सम्हालेका व्यक्तिलाई आज कतै जान रोकिनु ठूलो मजाक हो। सरकार नियम–कानुन पालना नगर्ने, निर्दोषलाई थुन्ने र दोषीलाई छोड्ने बाटोमा लागेको छ।”
ओलीले आफू सत्यका पक्षमा उभिने र निरन्तर लडिरहने व्यक्तित्व भएको बताउँदै यसलाई कसैले दम्भ सम्झे पनि देश निर्माणप्रति आफ्नो प्रतिबद्धता gघट्ने बताए ।
























