काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक दल गठन गरी आगामी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्न नहुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङतर्फ संकेत गरेका छन्।
उनले लेखेका छन्, “प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकार भनेर दाबी गरिरहनुभएको छ। तर आफूले नै सहजीकरण गरेको नयाँ दलबाट चुनाव लड्ने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री राखिराख्नु उचित हुन्छ?”
पोखरेलका अनुसार प्रधानमन्त्रीको प्रतिवद्धताविपरीत रहेको यस्तो अवस्थालाई तुरुन्त सच्याउनुपर्ने र सो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले पनि स्वीकार्य नहुने उल्लेख गरेका छन्। “यदी यस्तो व्यक्ति मन्त्री पदमा निरन्तर बस्नु नैतिक रूपमा उपयुक्त मानिँदैन भने उनलाई तात्काल बिदा गर्नुपर्ने होइन र?” भन्दै उनले प्रश्न उठाएका छन्।
मन्त्री घिसिङ बुधबार आफू समर्थित नवगठित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। घिसिङको इच्छाअनुसार दल दर्ता भए पनि उनी पार्टीको कुनै पदीय जिम्मेवारीमा भने बसेका छैनन्।


























