काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान का नेता सुदन किराँतीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग कुनै प्रकारको सहकार्य नहुने स्पष्ट बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै किराँतीले प्रचण्ड नेतृत्वको पार्टी “वृद्धाश्रमजस्तो बनेको” भन्दै अबको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको भएकाले त्यस्तो पार्टीसँग सहकार्य असम्भव भएको बताए ।
उनले भने, “नेपालको कानुनमा ७० वर्ष माथिका नागरिकलाई वृद्धभत्ता हुन्छ। त्यसरी नै प्रचण्डको पार्टी अहिले वृद्धाश्रममा परिणत भएको छ। आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरण हो, त्यो मुद्दा नबोकेको कारण हामीसँग सहकार्य हुन सक्दैन।”
किराँतीले भने कि प्रचण्डले विगतमा गरेका सकारात्मक कार्यहरूप्रति सम्मान रहेको भए पनि, पार्टीभित्र बहुमतको बलमा कब्जा गरेपछि आफूहरू नयाँ राजनीतिक अभियान सुरु गर्न बाध्य भएका हुन् ।
उनका अनुसार प्रगतिशील राष्ट्रिय अभियानले देशको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्ने, भ्रष्टाचार अन्त्य गर्ने तथा समानतामूलक समाज निर्माण गर्ने उद्देश्यका साथ अघि बढ्नेछ।
३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन
त्यसै अवसरमा जनार्दन शर्मा नेतृत्वको अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको घोषणा गरिएको छ। समितिको जानकारी पत्रकार सम्मेलनमार्फत नेता सुदन किराँतीले सार्वजनिक गरेका हुन्।
अभियानले भ्रष्टाचार, विभेद र असमानताका मूल कारणविरुद्ध संघर्ष गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने र नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने संकल्प व्यक्त गरेको छ।
साथै, सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति देशभित्र र बाहिर गठन गर्ने, जेन-जी पुस्ताद्वारा उठाइएका मुद्दाहरूलाई शीघ्र कार्यान्वयन गराउने र राष्ट्रिय शक्ति निर्माणमार्फत सशक्त र सभ्य समाज निर्माण गर्ने प्रतिबद्धता अभियानले जनाएको छ।

























