दाङ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार गठन र समयभन्दा अगाडि निर्वाचन (अर्लि इलेक्सन) नै एमालेको स्पष्ट राजनीतिक रोडम्याप रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले भने, “संसद पुनःस्थापना, संविधान संशोधन, जेन्जी पुस्तासहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन — यही एमालेको मार्गचित्र हो। यथास्थितिमा हुने चुनावको कुनै औचित्य छैन।”
उनका अनुसार वर्तमान परिस्थितिमा हुने चुनाव “शाही कालको स्थानीय निर्वाचनजस्तै नाटकिय” हुनेछ। उनले थपे, “सरकारले चुनाव गराउने भनिरहे पनि त्यसको वातावरण तयार पार्ने मनस्थिति देखिँदैन। प्रधानमन्त्रीकै ‘दलका नेताको अनुहार हेर्नु छैन’ भन्ने अभिव्यक्तिले नै चुनावको वातावरण असम्भव बनाएको छ।”
ज्ञवालीले हालको संविधानलाई “घाइते अवस्थामा पुगेको” बताउँदै अहिले शासन गरिरहेको सरकारले संविधानको भावना विपरीत काम गरिरहेको आरोप लगाए। उनले भने, “संविधानले नचिन्ने सरकार गठन भएको छ, संविधानले अस्वीकार गरेका मन्त्रीहरू पदमा छन्। यसले लोकतन्त्रलाई गम्भीर संकटमा पु¥याएको छ।”

























