काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय जेनजी आन्दोलनसम्बन्धी छानबिन तथा जाँचबुझ आयोगले गरेको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार बिहीबारदेखि नै लागू हुने गरी आयोगले खापुङको विदेश भ्रमणमा रोक लगाउँदै उपत्यका बाहिर जान पनि आयोगको पूर्व स्वीकृति आवश्यक हुने सूचना पत्राचार गरेको छ।
आयोगले खापुङलाई जब–जहिले आवश्यक परे बयानका लागि बोलाउन सक्ने र बोलाएको समयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था पनि गरेको छ।
यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत उच्च पदस्थ व्यक्तिहरूको विदेश भ्रमणमा पनि रोक लगाएको थियो। ती व्यक्तिहरूले उपत्यका बाहिर जानुअघि आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
खापुङ बुधबार राति १२ बजेदेखि सेवा अवधि पूरा गरी नेपाल प्रहरीबाट औपचारिक रूपमा सेवानिवृत्त भएका हुन्। सेवानिवृत्त भएको १२ घण्टा नबित्दै उनलाई आयोगले अनुसन्धान प्रक्रियाको दायरामा ल्याएको हो।
























