काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा हुनुअघि कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख कार्की २४ भदौमा जेनजी आन्दोलन हुँदा उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो ।
डीआईजी हुँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका कार्की एसएसपीको जिम्मेवारीमा हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हालेका थिए । त्यसबेला भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
ठूलो आर्थिक विवादमा नमुछिएका इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका कार्कीले फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर कामको अनुभव बटुलेका छन् ।
उनले अबको २९ महिना प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन् ।

























