काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टी विशेष महाधिवेशनतिर जान नहुने बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै नेता लेखकले विशेष महाधिवेशनमा गए पार्टी सग्लो नरहन सक्ने चेतावनी दिएका छन् ।
पार्टीको विशेष महाधिवेशन गर्न विधानअनुसार हस्ताक्षर दर्ता भइसकेको वताउँदै नेता लेखकले भने ‘हामीले नियमित कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। तर विशेष महाधिवेशनसम्म जानै हुन्न ।’
विशेष महाधिवेशन माग गर्नेहरूको भावना समेटेर क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताउँदै उनले विशेष महाधिवेशन गर्नु भनेको कांग्रेस जंगलभित्र पस्नुजस्तै भएकाले बाहिर निस्कन मुस्किल पर्ने चेतावनी दिएका छन् ।
मुलुकमा व्याप्त विषम परिस्थितिमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई आशा र भरोसाका साथ कार्यवाहक दिएको बताउँदै नेता लेखकले भने, ‘मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरेर निर्णायक तहमा पुग्नुपर्ने छ। यो कार्यवाहक सभापतिको चुनौती र अवसर पनि हो।’
त्यस्तै उनले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको बताएका छन् ।
लेखकले भने, ‘कुन संविधान, कुन कानुन कुन ऐनको कुन प्रावधान बमोजिम के औचित्यका लागि के प्रयोजनका लागि, कति अवधिका लागि मलाई स्थान हद गरियो भन्ने कुरा मलाई जानकारी छैन ।’
उनले दुई महिना अघि आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गरेको वर्तमान सरकारको निर्णय समाचारका माध्यमबाट सुनेको बताए ।
तत्कालीन गृहमन्त्री लेखकले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । बैठकमा घटनाबारे ब्रिफिङ गर्दै उनले सुरक्षा संयन्त्रलाई आफूले कुनै पनि अप्रिय घटना नहोस् भनेर सजग गराएको दाबी गरेका छन् ।
‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको छु,’ लेखकले बैठकमा भने, ‘दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई क्याजुटिली नहोस् है । क्याजुलिटी कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा व्यक्त पनि गर्नुभएको छ ।’

























