काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार जारी वक्तव्यमार्फत “जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको” निष्कर्ष प्रस्तुत गर्दै अलग भएको घोषणा गरेका हुन् ।
समाजवादी मोर्चामा आबद्ध तीन दल — माओवादी केन्द्र, एकीकृत समाजवादीले हालै पार्टी एकता गरेर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको मूल उद्देश्य पूरा भइसकेको भन्दै वक्तव्यमा भनिएको छ, “आजको अवस्थाले समाजवादी मोर्चाको विद्यमान संरचना र औचित्यलाई स्वतः समाप्त गरेको छ, त्यसैले हाम्रो जनप्रिय पार्टी नेकपा मोर्चाबाट अलग भएको जानकारी गराउँछ ।”
२०८० सालमा बनेको समाजवादी मोर्चा चार वामपन्थी दलहरूको साझा राजनीतिक प्लेटफर्म थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण, जनजीविकाको पक्षमा नीति वकालत र भ्रष्टाचारविरुद्ध संयुक्त आन्दोलन यसको मुख्य एजेन्डा थियो । तर, व्यवहारमा मोर्चाले केही सीमित कार्यक्रम बाहेक ठूला राजनीतिक उपलब्धि हासिल गर्न सकेन ।
माओवादी केन्द्र, एकीकृत समाजवादीको एकतामा विप्लव नेतृत्वको नेकपाबाट अलग भएको चिरन सी समूह समेत सहभागी भएको छ । जसले विप्लवको पार्टीभित्र पनि विचारगत मतभेद रहेको संकेत गर्छ । विप्लवले भने मोर्चाको गति समयअनुकूल नबढेको र संगठनात्मक रूपमा कमजोर भएको टिप्पणी गर्दै त्यसबाट अलग हुने निर्णय लिएका हुन् ।
विप्लवको यो निर्णय वाम राजनीतिमा स्वतन्त्र वैचारिक र संगठनात्मक मार्ग रोज्ने संकेत हो । उनका लागि नयाँ गठबन्धन खोजीभन्दा बढी वैचारिक स्वतन्त्रताको पुनःस्थापना हुन सक्छ । तर अर्कोतर्फ, वाम शक्तिहरू एकीकृत हुँदै गएको वर्तमान परिदृश्यमा विप्लवको अलग यात्रा उनलाई राजनीतिक रूपमा एक्लो बनाउन सक्ने जोखिम पनि उत्तिकै देखिन्छ ।


























