काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशस्तरसम्म ‘युथ फोर्स’ गठन गर्ने निर्णय गरेको छ। संघले देशभर युवा जागरण अभियान सञ्चालन गर्दै सोही अभियानको क्रममा युथ फोर्स विस्तार गर्ने योजना सार्वजनिक गरेको हो। अभियानको संयोजनको जिम्मेवारी संघका उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ ।
युवा संघका प्रवक्ता निरोज पौड्यालका अनुसार अभियान २७ कात्तिकदेखि १० मंसिरसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। कार्यक्रमअनुसार २७ कात्तिकमा लुम्बिनी, १ मंसिरमा बागमती, ३ मंसिरमा मधेश, ४ मंसिरमा कोशी, ८ मंसिरमा गण्डकी, ९ मंसिरमा कर्णाली र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुने छ।
अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समिति गठन गर्दै वडा, पालिका र प्रदेशस्तरीय युथ फोर्सको संरचना बनाइने प्रवक्ता पौड्यालले जानकारी दिए। साथै, ५ मंसिरमा काठमाडौंमा स्वयंस्ेवकहरूको केन्द्रीय भेला आयोजना गर्ने निर्णय पनि संघले गरेको छ।
संघका अनुसार यो अभियानको उद्देश्य देशभर एमालेको नीति र नेतृत्वबारे फैलिएका भ्रमहरू हटाउने, आगामी महाधिवेशनका तयारीलाई सुदृढ गर्ने, युवा नेतृत्वलाई स्थापित गर्ने र देशभर खस्कँदो सुरक्षा अवस्थालाई ध्यानमा राखी आम नागरिकमा सुरक्षाको भावना जगाउने हो।




















