हेटौँडा । मधेश प्रदेशमा राजनीतिक तनाव जारी छ । प्रदेश राजधानी जनकपुरधामस्थित मधेश प्रदेश भवनअगाडि सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले मंगलबार पनि प्रदर्शन जारी राखेका छन्। उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्।
प्रदर्शनमा नेकपा एमाले बाहेकका सबै दलका सांसद, नेता र कार्यकर्ताको सहभागिता रहेको छ। प्रदर्शनकारीहरूले प्रदेश भवन अगाडि टायर बाल्दै विरोध जनाएका छन्। उनीहरूले संविधानको धारा १६८(२) अनुसार सरकार गठन सम्भव हुँदा पनि सभामुखले एमालेका लागि धारा १६८(३) अनुसार सरकार बनाउन बाटो खोलिदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मधेश प्रदेशमा एमालेका सभामुखसहित २५ जना सांसद छन्, जसमा एक जना निलम्बित अवस्थामा छन्। ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सोमबार बिहान मुख्यमन्त्री बनेका थिए। त्यसपछि सात दलले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्।
यसैबीच, नवनियुक्त मुख्यमन्त्री यादव मंगलबार बिहानै मधेश भवन पुगेका थिए। सोमबार शपथ ग्रहणका क्रममा भवन परिसरमा भएको तोडफोड र तनावपूर्ण अवस्थाको निरीक्षण गर्दै उनले त्यसबारे जानकारी लिएका थिए। उनले सार्वजनिक सम्पत्ति तोडफोड, राष्ट्रिय झण्डाको अपमान र कर्मचारीमाथि कुटपिट हुँदा पनि प्रहरी प्रशासन निष्क्रिय बनेको भन्दै असन्तुष्टि जनाए।
मुख्यमन्त्री यादवले घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

























