काठमाडौं । जेन—जी आन्दोलनका कारण १५ वटा नयाँ दल जन्मिएका छन्। निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेहरूको होडबाजी नै चलेको छ। गत भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति तय गरिएको छ। जेन—जी उमेर समूहका युवाको अध्यक्षतामा दल दर्ताका लागि आयोगमा दिनहुँ निवेदन आउने गरेको आयोगका कर्मचारीहरू बताउँछन्।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार साउन २७ देखि कात्तिक २१ सम्म १६ वटा नयाँ दल दर्ताका लागि निवेदन परेका छन्। यसमध्ये एउटा दललाई प्रक्रिया पूरापश्चात् दल दर्ताको प्रमाणपत्र दिइएको छ। आयोगबाट प्राप्त तथ्यांकलाई केलाउँदा गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपश्चात् कात्तिक २१ सम्म १५ वटा नयाँ दल दर्ताका लागि निदेवन दर्ता भएका छन्।
जेन–जी आन्दोलनको बलमा कांग्रेस र एमाले गठबन्धनको सरकार ढल्यो। यसले अब युवापुस्ता पनि नेपाली राजनीतिमा सफल हुन सक्छ भन्दै जेन–जीहरूको नेतृत्वमा नयाँ दलहरू गठन भइरहेका छन्। जेन–जी आन्दोलनपश्चात् युवापुस्ताहरू राजनीतिमा उत्साहित भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
असोज २० गते स्वीकृत भएको निर्वाचन कार्य तालिका अनुसार मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा रहेको छ। आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ। फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जनाएको छ।
फागुन २१ का लागि तोकिएको निर्वाचन पूरा गराउन आयोग तीव्र तयारीमा जुटेको छ। निर्वाचन व्यवस्थानको ६० प्रतिशत काम पूरा भएको छ। आयोगका अनुसार निर्वाचन सामग्री पहिचानको काम पूरा भएको छ। अब दरबन्दी स्कीकृत गरेर सरसामान जुटाउने प्रक्रिया सुरु हुन्छ।
निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधिसभा निर्वाचन गर्न तयार रहेको जनाएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको शान्ति सुरक्षाको प्रतिबद्धता सरकारले जनाएपछि आयोगले निर्वाचनको तयारी तीव्र रूपमा गरिरहेको जानकारी दिए।
अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएकाले यसमा द्विविधा राख्न जरुरी नरहेको उनको भनाइ छ। उनले निर्वाचनका सम्बन्धमा दलहरूसँग छलफल गर्दा सबै दलहरू निर्वाचन जान तयार रहेको प्रतिबद्धता प्राप्त भएको तर दलहरूको सरोकार शान्ति सुरक्षामा रहेको उल्लेख गरेका थिए।
उनले अहिलेको ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था नरहेको भन्दै सरकारले कानुन बनाएर दिए कार्यान्वयन गर्न आयोग तयार रहेको बताए।
त्यस्तै, माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढेको उनले बताए। बैठकमा समिति सदस्यहरूले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले गरेको तयारीका बारेमा चासो व्यक्त गरेका थिए।
थपिए १ लाख ५० हजार नयाँ मतदाता
असोज ९ गते आयोगले गरेको निर्णयले कात्तिक ३० सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न समय तोकेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावली दर्ता कार्यमा अधिक चाप पर्न गएकाले सर्भरले ढिला गरी काम गर्ने गरेको छ। पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरूको उत्साहजन सहभागिता भइरहेको आयोगले जनाएको छ।
आयोग स्रोतका अनुसार कात्तिक २२ सम्म देशैभरिबाट कम्तीमा १ लाख ५० हजार नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएमध्ये फागुन २० गते १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्।
निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्न कात्तिक २७ गते राजनीतिक दलहरूसँग छलफल राखिएको छ। दलहरूसँगको छलफलपश्चात् दल दर्ताको सूचना प्रकाशन गर्ने आयोगको तयारी छ।

























