काठमाडौं । नेकपा एमालेले आज पार्टी विभाजनका बेला अलग भएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा भित्र्याउने अभियान सुरु गर्दैछ। यसैअन्तर्गत ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आज दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ।
यो अभियानमार्फत पार्टीले विशेषगरी नेकपा (एकीकृत समाजवादी) मा गएका पूर्वएमाले सदस्यहरूलाई पुनः एमालेमा फर्काउने तयारी गरेको हो। त्यसै क्रममा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ आज औपचारिक रूपमा एमालेमा फर्कँदै छन्।
झाँक्रीले पनि सामाजिक सञ्जालमार्फत सबै पूर्वएमाले कार्यकर्तालाई अभियानमा सहभागी हुन आग्रह गरेकी छन्। उनले भनिन्,
“यो अभियान हाम्रो आफ्नै अभियान हो, हाम्रो लागि हो। हामी सबै मिलेर कम्युनिस्ट आन्दोलनको मूल प्रवाह, नेकपा एमालेमा समाहित हुने घर फर्कने अभियान हो। सबै कमरेडहरूलाई यस कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”
तत्कालीन नेकपा विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भएको थियो। पछिल्लो समय नेपालले आफ्नो पार्टीलाई नेकपा (माओवादी केन्द्र) सहितका १० वाम दलको एकतामा समाहित गरेपछि, महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य झाँक्रीलगायत केही नेताहरू असन्तुष्ट बनेका थिए।
अब झाँक्री र किसान श्रेष्ठजस्ता नेताहरू एमालेमा फर्किने तयारीमा छन् भने भुसालले भने एकीकृत समाजवादी पुनर्गठन अभियान सुरु गरेका छन्, जसका संयोजक उनी स्वयं छन्।
त्यस्तै, प्रचण्ड संयोजक र नेपाल सहसंयोजक रहने गरी १० वाम घटकले नयाँ एकीकृत संरचना ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाएका छन्।
























