काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादको संकेत देखिन थालेको चेतावनी दिएका छन्। उनले बंगलादेश र म्यानमारमा जस्तै चुनाव स्थगित गर्दै अधिनायकवादी शासनलाई दीर्घकालीन बनाउने प्रवृत्ति नेपालमा पनि सुरु हुन लागेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ सुरुमा चुनाव गराउने घोषणा गरिन्छ, तर त्यसको मिति पटक–पटक सारिन्छ। म्यानमारमा ६ वर्षदेखि र बंगलादेशमा डेढ वर्षदेखि चुनाव टारिँदै आएको छ। अहिले नेपालमा पनि त्यही प्रयोग गर्न खोजिएको छ।”
उनका अनुसार देशलाई पुनः द्वन्द्व, तनाव, पारस्परिक द्वेष र घृणातर्फ धकेल्ने प्रयास भइरहेको छ, जसले राष्ट्रलाई गम्भीर संकटमा पार्न सक्छ। “यो राष्ट्रका लागि अनिष्टकारी अवस्था हो, यसलाई दीर्घकालीन बन्न दिनु हुँदैन,” उनले चेतावनी दिए।
ओलीले जेन–जी आन्दोलनको नाममा देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको आरोप पनि लगाए। उनका अनुसार यस्ता गतिविधिले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणाली दुवैलाई कमजोर पार्ने खतरा छ।
बैठकमा उनले पार्टी निकट युवाहरुलाई सडकमा उत्रन निर्देशन पनि दिए। प्रशासनले अनुमति नदिए पनि लोकतान्त्रिक अधिकारको प्रयोग गर्नुपर्ने भन्दै ओलीले भने, “प्रशासनलाई जानकारी दिनुस्, लुकेर गर्नुपर्दैन। तर, यदि स्वीकृति दिन मान्दैन भने पनि सडकमा उत्रनुहोस्। संविधान भन्दा सीडीओको आदेश माथि हुन सक्दैन।”
उनले युवाहरुलाई आन्दोलनका माध्यमबाट अधिनायकवादविरुद्ध सशक्त प्रतिवाद गर्न आह्वान गरे।
























