काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन साहलाई सुकुमवासी बस्तीबारे कडा चुनौती दिएका छन् ।
आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै उनले मेयर साहको सुकुमवासी बस्ती हटाउने योजनाको विरोध गरे। प्रसाईंले भने, “यो सुकुमवासी समस्या २०५८ सालदेखि रहँदै आएको हो। तपाईंलाई यो बस्ती घिनलाग्दो लाग्छ भने बजेट त तपाईंंकै हातमा छ, राम्रो घर बनाएर दिनुस् न।”
प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साएका छन् ।
प्रसाईले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘
काठमाडौंलाई सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई विस्थापित नगर्न उनले मेयर साहलाई आग्रह गरे। उनका अनुसार, “तपाईं एसी कोठामा बस्नुहुन्छ, इन्जिनियर पढ्नु भएको छ, सुविधासम्पन्न जीवन जिउनुहुन्छ, अनि फेसबुकमा स्टाटस लेखेर डिलिट गर्नुहुन्छ। तर अन्त्यमा गर्न खोजेको काम भनेको गरिबलाई मात्र लेखेट्नु हो।”
प्रसाईंले सुकुमवासीहरुको कठिन जीवनप्रति सहानुभूति जनाउँदै भने, “गरिबका छोरा–छोरीसँग न घर छ, न जग्गा। कोही खोलाको किनारमा, कोही फुटपाथमा बस्छन्। साग, फर्सी, मकै बेचेर गुजारा गर्छन्। यिनैलाई हटाएर शहर सुन्दर हुने कुरा केवल दिखावटी हो।”
उनका अनुसार, मेयर साहको नीतिका कारण काठमाडौंमा व्यापार–व्यवसाय कमजोर बनेको र धेरै सटर बन्द हुँदै गएको छ।
प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए । दलहरुले सुकुम्बासीहरुलाई भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिँदै मंसिर ७ को आन्दोलनमा सहभागि हुन आग्रह गरे । उनले चेतावनी दिँदै भने, “सुकुमवासी बस्ती हटाउन आउनेहरुसँग अब सिधा भिड्न तयार छु।”
























