काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकारको संज्ञा दिएका छन्।
शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले कार्कीले संविधान मिचेर प्रधानमन्त्रीको पद सम्हालेको आरोप लगाए।
ओलीले भने, “संविधानले स्पष्ट रूपमा प्रधानन्यायाधीशलाई कुनै पनि जागिर लिन नपाइने व्यवस्था गरेको छ। तर, पूर्व प्रधानन्यायाधीशले आफैं संविधान उल्लंघन गरेर प्रधानमन्त्री बन्नु असंवैधानिक र प्रतिगामी कदम हो। यो हावाको भरमा बनेको, अस्थिर र असंवैधानिक सरकार हो।”
उनका अनुसार कुनै पनि सभ्य समाजमा ‘डिस्कर्ड’ जस्तो प्लेटफर्मबाट प्रधानमन्त्री चयन गरिँदैन। “डिस्कर्डबाट भोटिङ गरेर प्रधानमन्त्री बनाउने कुरा हास्यास्पद छ। हजारौं केटाकेटीहरू भेला भएर भोट हालेको भनिन्छ, तर त्यो मत कसले गन्यो ? मतपत्र कस्तो थियो ? यस्तो हावामा बनाइएको सरकार लोकतान्त्रिक परम्पराको अपमान हो,” उनले टिप्पणी गरे।
ओलीले हालको सरकारले २४ गतेको आगजनी र तोडफोडजस्ता घटनाको बलमा सत्तारोहण गरेको दाबी पनि गरे। “यो सरकार जनअनुमोदन र संवैधानिक प्रक्रियाबाट होइन, अराजकताबाट बनेको हो,” उनले भने, “यसको चरित्र नै लोकतन्त्र, संविधान, संसद र जनप्रतिनिधित्वको विरोधी छ।”
उनका अनुसार अहिले देखिएको प्रतिगमन राजतन्त्रकालको भन्दा फरक र अदृश्य स्वरूपमा आएको छ। “यी प्रतिगामीहरू कमजोर छन्, न त इतिहासको न जनसमर्थनको आधार छ,” ओलीले भने, “हाहुमा आगो लगाएर, लुटपाट र तोडफोड गरेर, अराजकतामार्फत बनेको यो सरकारले देशलाई अस्थिरतातिर धकेल्दै छ।”



















