विराटनगर । विराटनगरस्थित बाल सुधार गृहबाट सात जना कैदी फरार भएका छन्। बिहीबार साँझ उनीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट गरी भागेको प्रहरीले जनाएको छ ।
फरार हुनेहरू सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका युवक हुन्, जो जबरजस्ती करणी, लागूऔषध कारोबार र हत्या जस्ता गम्भीर अपराधमा संलग्न रहेका थिए।
बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार कार्यालय बन्द हुने समयमा समूह बनाएर उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेपछि गेट खोलेर फरार भएका हुन्।
फरारमध्ये एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्, भने बाँकी छ जना अझै फरार रहेका छन्।
प्रहरीका अनुसार सुधार गृहमा सुरक्षामा खटिएका प्रहरीसँग हतियार नहुने र कैदीहरू मध्ये धेरैजना २७–२८ वर्ष उमेर समूहका भएकाले सुरक्षामा चुनौती थपिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालका अनुसार बाल सुधार गृहमा हाल करिब २५५ जना सुधारार्थी छन्। जेन–जी आन्दोलनका बेला २०६ जना फरार भएका मध्ये १९१ जना फर्किए पनि १५ जना अझै फरार छन्।
बिहीबार फरार भएका कैदीहरू भने नयाँ अपराधमा संलग्न भई पछिल्लो समय सुधार गृहमा ल्याइएका थिए।
सुरक्षा निकायका अनुसार हाल सुधार गृहमा उमेर पुगेका युवाहरू धेरै रहेका कारण विवाद, झडप र आन्दोलनका घटना दोहोरिँदै आएका छन्। केहीको उमेर त ३० वर्षभन्दा माथि समेत पुगेको जनाइएको छ।

























