काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
केही बेरअघि प्रारम्भ भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा पनि सहभागी भएका छन् ।
बैठकमा राष्ट्रिय सभाले सम्पन्न गर्नुपर्ने प्रमुख कार्यहरूको अधिवेशनगत समीक्षा, समितिहरूको काम–कारबाही, विधेयकहरूको वर्तमान अवस्था, राष्ट्रिय सभाको दुई वर्षे पुस्तक प्रकाशनलगायत विषयमा छलफल भइरहेको छ ।
यसैबीच, सरकारले संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ ।
सरकारले “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३” को अनुसूचीमा हेरफेर गरी प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षसहितका पदाधिकारीको स्वकीय सुविधा कटौती गरेको हो ।
संघीय संसद्मा प्रतिनिधि सभा २७५ सदस्यीय र राष्ट्रिय सभा ५९ सदस्यीय गरी कुल ३३४ सदस्य छन् । तीमध्ये सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक बाँकी ३३२ जनाको स्वकीय सचिव सुविधा हटाइएको छ ।
यस निर्णयप्रति संघीय संसद्ले असन्तुष्टि जनाउँदै आएको छ ।
























