काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माओवादी केन्द्रमा मिसाएपछि साथ नदिएका केही नेताहरूलाई पुरानो मितिमा कारबाही गरेका छन्। बिहीबार उनले पूर्व नेकपा (एस) का नेता घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई पार्टीबाट निष्कासन गरेका हुन्।
यस कारबाहीबारे प्रतिक्रिया दिँदै नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमार्फत माधव नेपालप्रति तीखो टिप्पणी गरेकी छिन्। उनले लेखेकी छिन्–
“प्रिय कमरेड माधव नेपाल, अभिवादन!
आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? अब पनि यस्तो कारबाहीको के अर्थ छ र? जनताले के भन्ला भन्ने पनि सोच्नु भएन ?
तपाईँले करिब १९ वर्ष पार्टी प्रमुखका रूपमा र बाँकी समय पार्टी प्रमुखलाई नियन्त्रण गर्ने जिम्मेवारीमा बिताउनुभयो। तर यो पछिल्लो घटनाले तपाईँको राजनीतिक इतिहासलाई फेरि विवादित बनायो।
जीवनमा आखिर लानु के त कमरेड ? देश र समाजका लागि जीवन समर्पण गर्ने व्यक्तिले अन्त्यमा लान्छन् त केवल केही स्मृति—मिठा वा तिता । चिया पसलमा दुई जनाले बोल्ने कुरा मात्र। आफ्नै मलामी त कसले हेर्छ र ?
हार्दिक धन्यवाद, यो अन्तिम कर्मका लागि। बाँकी जीवन सुखद रहोस्, परिवारमा शान्ति र स्वास्थ्य रहोस् भन्ने शुभकामना।
तपाईँ जहाँ रहे पनि हाम्रो अभिभावककै रूपमा सम्झने छु।”
झाँक्रीको उक्त टिप्पणीले माधव नेपालप्रतिको असन्तुष्टि मात्र होइन, उनको राजनीतिक यात्राप्रति गहिरो निराशा पनि झल्काएको देखिन्छ।
माओवादीमा मिसिनु भन्दा अफ्नै पुरानो घर फर्किनु वेस ठानेर रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमालेमा फर्किने भएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भएको भेटघाटपछि यो निर्णय भएको हो ।
आगामी कात्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एमालेले “घर फर्कने अभियान” कार्यक्रम आयोजना गरेको नेकपा एसका ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू भित्र्याउने तयारी भएको छ ।

























