काठमाडौँ । आज सिंहदरबारमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्ने भएको छ । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठककक्षमा उक्त बैठक आयोजना गरिएको हो ।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, साथै सबै सातवटै प्रदेशका सभामुख र उपसभामुख सहभागी हुनेछन् ।
हालै सरकारले प्रशासन सुधारको नाममा संघीय संसद्का पदाधिकारी तथा सांसदहरूले पाउँदै आएको कर्मचारी सुविधा कटौती गर्ने निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट बनेको छ । यस निर्णयप्रति संघीय तथा प्रदेश सभाका पदाधिकारीहरूले असन्तुष्टि जनाउँदै सरकारसँग छलफल गर्ने उद्देश्यले संयुक्त बैठक बोलाइएको बताइएको छ ।
यसअघि प्रतिनिधि सभाका सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख, उपाध्यक्ष तथा संसद् सचिवालयका महासचिव लगायत पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी असन्तुष्टि प्रकट गरिसकेका छन् ।
उनीहरूले संघीय संसद् राष्ट्रको एक प्रमुख अंग भएकाले कर्मचारी कटौतीले कामकाजमा प्रत्यक्ष असर पर्ने भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्री तथा अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएकी थिइन् ।
























