काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ। पार्टीले स्वाधीनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकार गठनको माग राख्दै बिहीबार दिउँसो र्यालीसहित प्रदर्शन आयोजना गरेको हो।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिती र पछिल्ला घटनाक्रमबारे पार्टीको धारणा जनतामाझ पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिएको नेकपाले जनाएको छ।
राजधानीका विभिन्न स्थान हुँदै शुरु भएको प्रदर्शन अन्ततः भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको छ। सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

























