काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहल र मध्यस्थतामा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु गरिएको छ ।
डा. भट्टराईका अनुसार नयाँ र वैकल्पिक राजनीतिक दल, समूह तथा अभियन्ताहरूबीच विस्तृत वैचारिक र संगठनात्मक संवादको प्रारम्भ भइसकेको छ ।
यो पहल जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिवेश र त्यसले देखाएको राजनीतिक असन्तुलनलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको हो । उक्त छलफलले समग्र रूपमा राजनीतिक पुनर्गठन र वैकल्पिक ध्रुवीकरणको दिशा लिने लक्ष्य राखेको बताइएको छ ।
छलफलमा डा. भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, रास्वपाका उपसभापति डीपी अर्याल, मानुसी यमीलगायत नेताहरू सहभागी छन् ।
स्रोतहरूका अनुसार, बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि यस छलफललाई प्रारम्भिक चरण मानिएको छ, जसको समन्वय र मध्यस्थता डा. भट्टराईले गरिरहेका छन् ।



















