रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि संसद पुनःस्थापना आवश्यक रहेको बताएका छन् । उनले संविधान संशोधनमार्फत मुलुकलाई ताजा जनादेशमा लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले जेन–जी पुस्ताको माग सम्बोधन गर्दै संविधानको मर्मअनुसार देश अघि बढाउन संसद पुनःस्थापना अनिवार्य भएको बताए ।
उनले भदौ २३ गते जेन–जी युवा पुस्ताको हत्याको घटना र भदौ २४ गते भएको आगजनी तथा तोडफोड घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि राखेका छन् ।
पौडेलले आसन्न एमाले महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै पार्टी संगठन अझ सुदृढ बन्ने दाबी गरेका छन् ।

























