काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले वाम दलहरूबीच हुन लागेको एकता प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । उनले यो एकता जनतालाई झुट बोल्ने र धोका दिने प्रयास मात्रै भएको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूसालले अहिलेको एकता ‘कमजोर र ओरालो लागेकाहरूको गठबन्धन’ भएको भन्दै यसबाट देश र जनताका लागि कुनै सकारात्मक निकास ननिस्कने दाबी गरे ।
“संकटमोचनको नाममा तयार गरिएको फर्मुला गलत छ,” उनले भने, “जो आफैं ओरालो हिँड्दैछन्, ती कमजोरहरूको एकताले उकालो लाग्ने भाष्य सिर्जना गर्न खोजिएको छ । यस्तो एकताले समाधान होइन, भ्रम मात्रै दिन्छ ।”
एमाले विभाजनपछि एकीकृत समाजवादी गठन गर्दा समाजवादको जिम्मेवारी लिएको स्मरण गर्दै उनले अहिले त्यो उद्देश्य हराएको टिप्पणी गरे ।
“एमालेबाट अलग हुँदा हामीले समाजवादको जिम्मा लिन तयार भएको घोषणा गरेका थियौँ । तर त्यो जिम्मेवारी कहाँ पुग्यो ? के हामीले कुनै पुनर्गठन र रूपान्तरण गर्न सक्यौँ ? त्यो आत्मसमीक्षा नगरी फेरि त्यही ठाउँमा पुग्नु के अर्थ हो ?” भूसालले प्रश्न गरे ।
उनका अनुसार, अहिले भइरहेको वाम एकताको प्रस्तावले जनताको आकांक्षा र देशमा भएका संरचनागत परिवर्तनहरूलाई बेवास्ता गरेको छ ।
“मैले एकताको लागि बनेको दस्तावेज पढेँ,” उनले भने, “त्यो दस्तावेजले मुलुकमा आएका यथार्थपरक परिवर्तनहरूलाई नजरअन्दाज गरेको छ । यस्तो एकताले जनतालाई झुक्याउने, झुट बोल्ने र धोका दिने काम मात्र गर्छ ।”
























