काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट अलग भएर नयाँ राजनीतिक अभियानको घोषणा गरेका नेता जनार्दन शर्माले माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिलाई अन्य दलहरूसँग एकता गर्ने कुनै अधिकार नभएको बताएका छन्।
मंगलबार ललितपुरको बखुन्डोलमा आयोजित पत्रकार सम्मेलनमा शर्माले माओवादी नेतृत्वमाथि पार्टीभित्र प्रतिस्पर्धा रोक्ने र नयाँ नेतृत्व उदाउने बाटो अवरुद्ध गर्ने प्रयोजनका लागि “एकताको नाटक” गरिएको आरोप लगाए।
‘अहिले माओवादीमा महाधिवेशन आयोजक समिति बनाइएको थियो,’ शर्माले भने, ‘तर त्यो समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एकताको नाटक गरेको छ। आयोजक समितिको जिम्मेवारी महाधिवेशन सम्पन्न गर्नु हो, अन्य दलसँग एकता गर्नु होइन।’
उनका अनुसार प्रचण्ड नेतृत्वले पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने तथा प्रतिस्पर्धाबाट नयाँ नेतृत्व आउने सम्भावनालाई रोकेर संगठनलाई निष्क्रिय दिशातर्फ धकेलेको छ।
‘महाधिवेशन सम्पन्न गर्नुभन्दा पनि त्यसलाई टार्ने, विधि र पद्धति तोड्ने, प्रतिस्पर्धा नदिने उद्देश्यले अहिलेको एकता प्रक्रियालाई अघि सारिएको छ,’ शर्माले स्पष्ट पारे।
शर्माले माओवादी केन्द्रभित्र अहिले नै अराजक अवस्था सिर्जना भएको दाबी पनि गरे। ‘आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसकेको छ,’ उनले भने, ‘हजारौँको केन्द्रीय समिति र सयौँको सचिवालय बनाउँदैछन्। त्यसको कुनै अर्थ रहँदैन।’
शर्माले आफू माओवादी आन्दोलनको मूल मूल्य र पहिचान जोगाउन नयाँ अभियानमा लाग्ने बताएका छन्।

























