काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी दलबीचको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्। यसबारे आफ्नो धारणा सार्वजनिक गर्न उनले मंगलबार दिउँसो २ः३० बजे ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।
गत शनिबार बसेको माओवादी सचिवालय बैठकमा शर्माले एकता प्रस्तावप्रति लिखित असहमति जनाउँदै बैठकबीचमै बाहिरिएका थिए। त्यसपछि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। आइतबार बसेको सचिवालय बैठकमा पनि शर्मा अनुपस्थित रहे।
यसैबीच, माओवादी, एकीकृत समाजवादी र अन्य नौ वाम दलबीच बुधबार एकता घोषणा हुने तयारी छ। त्यसअघि माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति बैठक मंगलबार दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा बस्ने छ। तर शर्मा उक्त बैठकमा सहभागी नहुने र आफ्नै पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने तयारीमा छन्।
प्रचण्डसँगको भेट : ‘अब अलग बाटो लिन्छु’
स्रोतका अनुसार आइतबार जनार्दन शर्माले प्रचण्ड निवास पुगेर औपचारिक रूपमा ‘सँगै नरहने’ निर्णय सुनाएका थिए। प्रचण्डले उनलाई फकाउने प्रयास गरे पनि शर्मा अडिग रहे। भेटमा दुवै जना भावुक बनेका थिए।
‘प्रचण्डबिना मलाई कस्तो अप्ठ्यारो पर्छ, म पनि हेर्छु। तपाईंले पनि म बिना कस्तो महसुस गर्नुहुन्छ हेर्नुस,’ शर्माले भनेको उद्धृत गर्दै स्रोतले बतायो, ‘अहिलेलाई बिदा, पछि मिलौंला।’
प्रचण्डले पनि सम्झाउन खोज्दै भनेका थिए, ‘अब मसँग लिनु केही छैन, पार्टी तपाईंहरूकै हो। नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरिसकेको छु।’ तर शर्माले उक्त आश्वासनलाई विश्वास गर्न नसक्ने बताए। ‘केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,’ शर्माले प्रचण्डलाई भनेका थिए।
‘म माओवादीलाई जीवित राखेर अगाडि बढ्छु’ शर्माले माओवादी आन्दोलनको मूल पहिचान मेट्ने गरी हुने एकता अस्वीकार्य भएको दोहोर्याए। उनका अनुसार, ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो। म माओवादीलाई जीवित राखेर अघि बढ्छु। बृहत् कम्युनिस्ट एकता अभियान चलाउँछु।’
उनले प्रचण्डलाई सुझाव पनि दिए, ‘कम्तीमा म बिना पनि पार्टी चलाएर हेर्नुस, तपाईंलाई हाइसञ्चो हुन्छ।’
शर्माले प्रस्तुत गरेको लिखित प्रस्तावमा भनिएको छ, “यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु।”
भेटको अन्त्यमा दुवैले एकअर्कालाई शुभकामना दिएका थिए। प्रचण्डले भनेका थिए, “तपाईंलाई मेरो शुभकामना छ, राम्रो गर्नुस्।”
























