काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा एमाले र यसको नेतृत्वविरुद्ध चार प्रकारका शक्ति संगठित रूपमा सक्रिय रहेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रताको नाममा अराजकता फैलाउने समूहहरू एमालेविरुद्ध नियोजित रूपमा परिचालित भएको दाबी गरे।
उनका अनुसार, राजसंस्थाको पुनःस्थापनाका पक्षधरहरूले एमाले नेतृत्वको सरकारका कारण असफल भएपछि अहिले एमालेविरुद्ध अभियान चालेका छन्। माओवादी केन्द्र र सरकारच्युत भएकाहरू पनि राजनीतिक रूपमा प्रतिशोधी व्यवहार गर्दै पार्टीविरुद्ध उत्रिएका उनले बताए। त्यसैगरी, स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरू एमालेको वैचारिक प्रतिवादका कारण विरोधी बनेको उनको भनाइ छ।
पोखरेलले भने, “नेपालमा चार प्रकारका शक्तिहरू संगठित रूपमा एमालेविरुद्ध लागेका छन् — पहिलो, बाह्य शक्ति; दोस्रो, राजसंस्था पुनःस्थापनाका प्रयासमा जुटेका; तेस्रो, सरकारच्युत भएकाहरू; र चौथो, स्वतन्त्रताको नाममा अराजकता फैलाउने समूहहरू।”
उनले यी शक्तिहरूको संलग्नताले नै देशभर हाल देखिएका ‘जेन–जी आन्दोलन’का नाममा अराजक गतिविधिहरू निम्त्याएको दाबी गरे।
महासचिव पोखरेलले भदौ २३ गतेको आन्दोलनका क्रममा प्रहरीले अपनाएको भीड नियन्त्रणको विधि ‘शंकास्पद’ भएको बताए। उनले भने, “नेपालमा धेरै राजनीतिक आन्दोलन भएका छन्, तर जेन–जी आन्दोलनका क्रममा प्रहरीको शैली असामान्य र प्रश्न उठाउने खालको देखियो।”
जेन–जी आन्दोलनका युवाको माग उचित
पोखरेलले जेन–जी आन्दोलनमा सहभागी युवाहरूले अघि सारेका मागहरू अनुचित नभएको पनि स्पष्ट पारे।
उनका अनुसार, ती मागहरू तत्कालीन सरकारले पनि पूरा गर्न सक्ने खालका थिए, तर सरकार स्वयंले त्यसमा कुनै चासो नदेखाएकोले आन्दोलन तीव्र भएको हो।
“उनीहरूले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएन। कसले आन्दोलनको नेतृत्व गरिरहेको थियो भन्ने कुरा तत्कालीन सरकारले बुझ्ने प्रयास नै गरेन,” उनले भने।
पोखरेलले पछिल्ला घटनाक्रममा प्रविधिप्रतिको अत्यधिक निर्भरता र मोबाइलको लतका कारण केही युवाहरू गलत तत्वले प्रयोग गरेको दाबी गरे।
उनले भने, “आजको पुस्ता भात छोड्न सक्छ, परिवार छोड्न सक्छ, तर मोबाइल छोड्न सक्दैन। यही कमजोरीलाई गलत समूहहरूले प्रयोग गरेर आन्दोलनमा मोड्ने काम गरेका छन्।”
उनका अनुसार, वर्तमान अवस्थामा जनआवाजको संवेदनशील रूपमा सम्बोधन गर्नु र अराजकताविरुद्ध सशक्त प्रतिवाद गर्नु नै राष्ट्रिय आवश्यकता हो।
























