काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार प्रस्थान गरेका छन् । उनी कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन् ।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा उक्त भ्रमणमा गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाई गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुख उपस्थित थिए । बिदाई समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सम्मान गार्ड अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलले सम्मेलनको उद्घाटन सत्रमा कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्नेछन् ।
‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’ पहिलोपटक सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा आयोजना गरिएको थियो । यसपटकको सम्मेलनमा विश्वभरका देशहरूले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यागत असन्तुलन, प्रविधिको प्रभावलगायत विषयमा छलफल हुने जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९५५ देखि सदस्य रहँदै आएको नेपाल सधैं शान्ति, स्थायित्व र सामाजिक प्रगतिका लागि सक्रिय रहँदै आएको छ । हाल नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष राष्ट्रका रूपमा कार्यरत छ ।
कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
























