काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा आइतबार बसेको पार्टी सचिवालय बैठकमा सहभागी भएनन्। शनिबारको बैठकमा उनले नेकपा (एकीकृत समाजवादी) सँग हुने भनिएको पार्टी एकता प्रक्रियाप्रति लिखित असहमति जनाएका थिए ।
शनिबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा शर्माले आफ्नो धारणा लेखेर बुझाउँदै भनेका थिए, “बिना वैचारिक स्पष्टता, विगतको गम्भीर समीक्षा र संगठनात्मक तयारीबिनाको एकताले वाम आन्दोलन बलियो होइन, कमजोर बनाउनेछ।”
उनका अनुसार यो ‘हतारको एकता’ केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बन्न सक्छ, तर समग्र कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल हुनेछ। शर्माले यस्तो एकतालाई ‘आत्मसमर्पण’ को रूपमा चित्रण गर्दै भनेका थिए, “सुशासन, पारदर्शिता र नेतृत्व हस्तान्तरणको भावना विपरीत गरिने एकताले पार्टीको साख झन् घटाउनेछ र विसर्जनतर्फ धकेल्नेछ।”
उनले देशको राजनीतिक संकट समाधान गर्नुभन्दा पनि यो एकता प्रक्रियाले विगतमा कम्युनिस्ट आन्दोलनले भोगेको विभाजनलाई दोहोर्याउने चेतावनी दिएका छन्। साथै, उनले सहिद, बेपत्ता र घाइते योद्धाहरूको सपना तथा त्यागलाई बेवास्ता गरिएको आरोप पनि लगाए।
शर्माले बैठकमा भनेका थिए, “यो एकता प्रक्रियालाई तत्काल रोक्दै पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशातर्फ अघि बढ्न सबै कमरेडहरूलाई आह्वान गर्दछु।”
त्यसपछि उनले “एकताको भारी नबोक्ने” भन्दै बैठकबीचमै बाहिरिएका थिए। उनको उक्त कदमप्रति पार्टी अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि प्रकट गरेका थिए।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शर्मा आइतबार बिहान ८ बजे सुरु भएको सचिवालय बैठकमा सहभागी भएनन्। यो बैठक शनिबारको निरन्तरता थियो।
माओवादी केन्द्रले एकीकृत समाजवादीसँगको एकता सम्बन्धी अन्तिम निर्णयका लागि कात्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
























